福岡のFMラジオ局 LOVE FM。周波数76.1MHz。九州北部広範囲をカバーする10ヶ国語の多言語放送局。
THU 8:54-9:00
2025.01.09[Thu] 09:00
अन्य(その他) , कार्यक्रम तथा मनोरन्जन(イベント・娯楽)
【हाताचि नो चुदोई" अर्थात् वयस्क दिवस】
फुकुओका शहरमा २० वर्ष उमेरका व्यक्तिहरूका लागि, रेइवा ७ को जनवरी १३, का दिन, जुन अर्को हप्ता सोमबार सार्वजनिक बिदाको दिन पर्छ, हाकाटा वार्डस्थित मरीनमेस्से फुकुओकामा "हाताचि नो चुदोई" अर्थात् वयस्क दिवसको स्मृति कार्यक्रम आयोजना गरिनेछ।
वयस्क दिवस भनेको नयाँ वयस्कहरूले एक जिम्मेवार व्यक्तिको रूपमा पहिलो कदम चाल्ने दिन हो। यो २० वर्ष पुगेको खुशीयाली मनाउने दिन हो, र जापानमा यो सार्वजनिक बिदाको रूपमा मनाइन्छ।
कार्यक्रममा, नगरप्रमुखको बधाई सन्देश, आयोजन समिति द्वारा तयार पारिएका रोचक योजनाहरू, र फुकुओका संग सम्बन्ध भएका प्रख्यात व्यक्तिहरूका भिडियो सन्देशहरू समावेश गरिएका छन्।
त्यसैगरी, कार्यक्रम स्थलको बाहिर, पुराना साथीहरू र सहपाठीहरूसँग पुनर्मिलन गर्ने र तस्वीर खिच्ने नयाँ वयस्कहरूको उत्साहपूर्ण दृश्यहरू देख्न सकिन्छ, जसले निकै रमाइलो वातावरण सिर्जना गर्छ।
यो दिन परम्परागत रूपमा औपचारिक पोशाक लगाएर सहभागी हुने चलन छ। धेरैजसोले जापानी परम्परागत पहिरनजस्तै किमोनो वा हाकामा लगाउँछन्। कोहीले आफ्नो परिवारबाट पुस्तौँदेखिको अमूल्य किमोनो, कोहीले नयाँ सुट, र कोहीले विशेष मौलिक डिजाईनको पहिरन लगाउँछन्। उनीहरू बिहानैदेखि तयार भएर सजिन्छन्।
यस दिनको सम्झनालाई स्थायी बनाउन फोटो स्टुडियोमा फोटो खिच्ने, परिवारसँग विशेष खानाको मजा लिने, र पुराना साथीहरूसँग पुनर्मिलन कार्यक्रममा सहभागी हुने चलन पनि छ। यो आफ्ना अभिभावक र आफूलाई हुर्काउनेहरूप्रति कृतज्ञता व्यक्त गर्ने महत्वपूर्ण दिन पनि हो।
यस वर्ष २० वर्ष पुग्न लागेका सबैलाई र उहाँहरूको परिवारलाई यो विशेष दिन खुसीमय रहोस्! धेरै धेरै बधाई!
【फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना】
"संयुक्त राष्ट्रका कर्मचारीसँग मिलेर सहर निर्माण गरौँ!" सहभागीताको लागि आवेदन खुला
फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनले UN-Habitat Fukuoka Headquarter का कर्मचारीलाई प्रशिक्षकको रूपमा आमन्त्रण गरी सहर निर्माण सम्बन्धी कार्यशाला आयोजना गर्ने भएको छ।
यस कार्यशालामा सहभागी हुन चाहने व्यक्तिहरूको उमेर सीमा कक्षा ४ देखि कक्षा ९ सम्मका प्राथमिक विद्यालयदेखि माध्यमिक विद्यालयका विद्यार्थीहरु हुन्।
कार्यक्रम, जनवरी १९, आइतवार; १०:०० बजे देखि ११:३०बजे सम्म आयोजना हुनेछ। कार्यक्रम स्थल ACROS Fukuoka को सभा कक्ष हो।
UN-Habitat Fukuoka Headquarter, क्यूसु क्षेत्रको एक मात्र संयुक्त राष्ट्रको संस्था हो, जसले "मानव बसोबास" सम्बन्धी विभिन्न परियोजनाहरू सञ्चालन गर्छ।
कार्यशालामा सहभागीहरू आफूलाई Habitat गाउँका बासिन्दाको रुपमा सोची, भारी वर्षाबाट धेरै क्षति भएको गाउँको पुन:निर्माणको लागि सबैजना मिलेर योजना बनाउनेछन्।
कार्यशाला सरल जापानी भाषामा सञ्चालन हुने भएकोले विदेशी मूलका बालबालिकाहरू पनि सहज रूपमा सहभागी हुन सक्छन्।
संयुक्त राष्ट्रका विश्वव्यापी गतिविधिहरूमा रुचि राख्नुहुने सबैलाई सहभागिताको लागि स्वागत छ।
सहभागिता निःशुल्क छ, तर अग्रिम बुकिंग अनिवार्य छ।
बुकिंग प्रक्रिया र अन्य जानकारीको लागि फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको वेबसाइट वा फेसबुक पेज हेर्नुहोस्।
फाउन्डेसनको वेबसाइट『www.fcif.or.jp』।
‘विदेशीहरुका लागि आप्रवासन, आवास र राष्ट्रियता सम्बन्धि परामर्श’
आवासको स्थिति र आवास अवधिको बारेमा, केही कुरा नबुझ्नु भएको छ कि?
फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनमा, फुकुओकामा बस्नु हुने विदेशीहरूका लागि निःशुल्क परामर्शहरु प्रदान गर्दै आईरहेको छ।
हरेक महिनाकोदोस्रो आइतबारको दिउँसो१ बजेदेखि ४ बजेसम्म, प्रसाशनिक वकिलद्वारा तपाईंहरुको प्रश्न र परामर्शको उचित सल्लाह दिनुहुन्छ।परामर्शका लागि इच्छुक महानुभावहरुले दिउँसो ३:३० सम्ममा काउण्टरमा सम्पर्क राख्नु होला।
अंग्रेजी, चाइनिज र जापानी भाषामा परामर्शका लागि अग्रिम बुकिंग गर्न आवश्यक छैन।
अन्य भाषाहरुमा परामर्शका लागि, १ हप्ता अगाडि सम्पर्क गर्नुहोला।
गोपनीयता कडा पालना गर्ने भएकोले ढुक्क भएर परामर्श लिनुहोस्।
विस्तृत जानकारीका लागि, फोन नम्बर ०१२०-६६-१७९९ मा सम्पर्क गर्नुहोला।
सोमबारदेखि शुक्रबार, बिहान ९ बजेदेखि बेलुका ५:३० बजेसम्म कल स्वीकार गरिन्छ।
2025.01.02[Thu] 09:00
अन्य(その他)
नयाँ वर्ष २०२५ को हार्दिक मंगलमय शुभकामना!
वर्ष २०२५ को आज यो पहिलो प्रसारण!
तपाईंहरुको नयाँ वर्षको बिदा कस्तो हुँदैछ? पक्कै पनि रमाइलोसँग नै बितिरहेको होला!
यस वर्ष पनि 【LIFE IN FUKUOKA】 तपाईँहरू सबैका लागि राम्रो मार्गनिर्देशन बन्न सकोस् भन्ने आशा गर्दछु♪
आगामी दिनहरूमा पनि सहयोग र सहकार्यको अपेक्षा गर्दछु।
वर्षको पहिलो प्रसारणमा, नयाँ वर्षको शुभकामनासँग सम्बन्धित परिकार【ओसेची र्योउरी】को बिषय लिएर आएकी छु।
【ओसेची र्योउरी】
तपाईँहरूले जापानमा नयाँ वर्षमा के खाने गर्नुहुन्छ?
जापानमा नयाँ वर्षका लागि भाग्यमानी मानिने विभिन्न परिकारहरू खाने चलन छ। जापानी नयाँ वर्ष भन्नासाथ सबैभन्दा प्रख्यात परिकार भनेको【ओसेची र्योउरी】हो।
【ओसेची】को मूल अर्थ भनेको मौसम परिवर्तनका विशेष अवसरहरूमा, राम्रो उत्पादनको लागि भगवानप्रति कृतज्ञता व्यक्त गर्न "चढाइने परिकार" हो।
आधुनिक समयमा यो परिकार नयाँ वर्षको शुभकामना आदान-प्रदान गर्न परिवारका सदस्यहरूसँग बसेर खाने चलन बनेको छ। साथै, आगन्तुकहरूलाई समेत यो परिकार पस्कने गरिन्छ।
【ओसेची र्योउरी】 विशेष गरिज्युबाकोअर्थात् परम्परागत बक्समा राखिन्छ। यसको पछाडि केही कारणहरू छन्। एउटा कारण भनेको “बक्सलाई तह लगाउनु भनेको खुशी थुपार्नु" भन्ने अर्थ हो। त्यस्तै, ज्युबाकोमा खाना राख्दा कम ठाउँ लिन्छ, र आगन्तुकलाई सजिलै पस्कन सकिन्छ भन्ने व्यावहारिक कारण पनि छ।
वर्षको अन्त्यमा 【ओसेची】 वा नयाँ वर्षमा खाइने परिकारहरू तयार गर्ने, र नयाँ वर्षको दिनमा खाना नपकाइ यी परिकारहरू खाएर समय बिताउने परम्परा छ। नयाँ वर्षको १ तारिकदेखि ३ दिनसम्म, भगवानलाई स्वागत गरेर, वर्षभरि राम्रो बाली र परिवारको सुरक्षाको कामना गरिन्छ। त्यसैले नयाँ वर्षमाचुल्हो बाल्नवाआगो प्रयोग गरिंदैन। साथै, खाना पकाउने व्यक्तिलाई आराम दिने उद्देश्यले भान्साको काम घटाउन, नयाँ वर्षको केही दिन अगाडि नै 【ओसेची र्योउरी】 तयार गरिन्छ। चिसो हुँदा पनि स्वादिलो हुने र लामो समयसम्म टिक्ने गरी विशेष रूपले 【ओसेची र्योउरी】 तयार पारिन्छ।
【ओसेची र्योउरी】को प्रत्येक परिकारमा शुभ संकेत वा कामना समावेश गरिएको हुन्छ। ओसेची खानाका सामग्रीहरू क्षेत्र अनुसार फरक हुन सक्छन्, तर समग्रमा करिब २० देखि ३० प्रकारका परिकारहरू समेटिन्छन्। विभिन्न प्रकारका सामग्री र परिकारहरू स्वाद लिन सकिने कुरामा 【ओसेची र्योउरी】 को विशेषता छ। "नयाँ वर्षमनाउने ३ परिकारहरु" सन्तानको वृद्धि, स्वास्थ्यको दीर्घायु, र राम्रो उत्पादनको प्रतीकहुन्। यसमा, "मदिरासँग खाने परिकार," "समुद्री खानाबाट बनेको ग्रिल परिकार," "सागपात तरकारीको परिकार" र "अचार" गरी ५ प्रकारका परिकारहरू समाबेश हुन्छन्।
ज्युबाको अर्थात् खाना राख्ने बक्समा कुन तहमा कुन परिकार राख्ने भन्ने पनि निर्धारित गरिएको हुन्छ। परम्परागत रूपमा, पाँच तहको ज्युबाकोमा परिकारहरू राखिन्छ। क्षेत्र अनुसार समावेश गरिने परिकार फरक हुन सक्छन्। पहिलो तहमा" नयाँ वर्षको शुभकामना दिने ३ परिकार" र "मदिरासँग खाने परिकार" राखिन्छ। दोस्रो तहमा,"ग्रिल परिकार"। त्यस्तै तेस्रो र चौथो तहमा, "सागपात तरकारीको परिकार" र "अचार"। पाँचौं तह चाहिं, भाग्य भर्ने ठाउँको रूपमा खाली राखिन्छ।
हालैका वर्षहरूमा, तीन तहको ज्युबाकोप्रयोग गर्ने चलन बढ्दो छ। पहिलो तहमा "नयाँ वर्षको शुभकामना दिने ३ परिकार" र "मदिरासँग खाने परिकार" राखिन्छ। दोस्रो तहमा, " ग्रिल परिकार" र "अचार"। तेस्रो तहमा, "सागपात तरकारीको परिकार" राखिन्छ।
"नयाँ वर्षको शुभकामना दिने ३ परिकारहरु" मा, कुरोमामे: मीठो बनाएर पकाइएको कालो भटमास। खाजुनोको: निसिन माछाको अण्डा नुन राखेर तयार पारिएको परिकार। ताजुकुरी: सुकेको इवासीको साना माछाहरु भुटेर, त्यसमा चिनी, सोयासस र मिरिनले गुलियो र पिरो स्वाद दिने गरी बनाइएको परिकार। ताताकीगोबो जस्ता प्रमुख छन्।
"मदिरासँग खाने परिकारहरु"मा, कुरि किन्तोन: चेस्टनट र आलु प्रयोग गरेर बनाइएको गुलियो पेस्ट। कोहाकु कामाबोको: गुलाफी र सेतो रंगको माछाको पेस्ट। दातेमाकी: अण्डा र माछाको पेस्ट, चिनी मिसाएर पकाइएको परिकार। कोंबुमाकी: निसिनलाई कंबुमा मोलेर, कान्प्योले बाँधेर गुलियो र नरम पकाइएको परिकारहरु प्रमुख छन्।
त्यस बाहेक, राम्रो भाग्यको प्रतीक मानिने समुद्री खानाहरू जस्तै बुरी, ताई, र इसेइबी प्रयोग गरेर बनाइएको "ग्रिल परिकार", गाजर र मुला प्रयोग गरेर बनाइएको अमिलो खाना "कोहाकु नामासु", त्यस्तै, रेनकोन, सातोइमो, मुला, गाजर, र कोंन्याकु प्रयोग गरेर बनाइएको "सागपात तरकारीको परिकार" खाने गरिन्छ।
हरेक परिकारमा विशेष अर्थ र शुभकामना समेटिएको हुन्छ, र समय दिएर मिहिनेतका साथ 【ओसेची र्योउरी】तयार गरिन्छ । नयाँ वर्षमा विभिन्न शुभ संकेतले भरिएको 【ओसेची र्योउरी】 खाने परम्परा अझै पनि जापानी संस्कृतिको गहिरो छाप छ। 【ओसेची】 सम्बन्धी चलन क्षेत्र अनुसार फरक हुन सक्छ, तर आधुनिक समयमा 【ओसेची र्योउरी】मा पनि विविधतामा आएको छ। आफ्नो परिवारको शैली अनुसारको 【ओसेची र्योउरी】 बनाएर, वर्षभरि स्वास्थ्य र सुखको कामना गरौं।
नयाँ वर्ष २०२५ सबैको लागि सुखद रहोस्। तपाईंहरुको इच्छा आकांक्षा पूरा होस् भनि कामना गर्दछु♡
2024.12.26[Thu] 09:00
अन्य(その他) , नियम तथा आचरण(ルール・マナー)
【सीसाइड मोमोची ICE SKATING PARK】
श्रोताहरू, के तपाईंहरूले कहिल्यै आइस स्केटिङ गर्नुभएको छ? यो जाडो मौसमको विशेष गतिविधि हो। यस जाडोमा, फुकुओकाको प्रसिद्ध पर्यटकीय क्षेत्रमोमोचिहामामा, आइस्केटिङ पार्क "सीसाइड मोमोची ICE SKATING PARK" खुल्ला भएको छ।
यो पार्क २४ फेब्रुअरीसम्म मात्र खुल्ला रहने छ, र "फुकुओका टावर" अगाडि रहेको हरियाली पार्कमा स्केटिङ गर्न पाइनेछ। साथै, मौसम अनुसारका विभिन्न कार्यक्रमहरू आयोजना गरिनेछन्।
२५ डिसेम्बरसम्म, मोमोचिमा पहिलो पटक आयोजना हुने क्रिसमस मार्केट हुनेछ। डिसेम्बर २८ देखि २०२५ को जनवरी १३ सम्म, द्वार, तोरि गेट, र पूजास्थलहरू जस्ता नयाँ वर्षको विशेष सजावटहरु हुनेछन्। १६ जनवरीदेखि २४ फेब्रुअरीसम्म, भ्यालेन्टाइन माहोल बनाउन हार्ट मोन्युमेन्ट स्थापना हुनेभएको छ।
त्यस अतिरिक्त, स्केटिङ सिक्ने कक्षाहरू र स्केट शोहरू पनि आयोजना हुनेछन्।
"सीसाइड मोमोची ICE SKATING PARK" को सञ्चालन समय बिहान ११:०० बजेदेखि राति ९ बजेसम्म हो। मौसमका कारण सञ्चालन समय परिवर्तन हुन सक्छ, त्यसैले जानुअघि आधिकारिक वेबसाइट जाँच गर्नुहोस्।
टिकट मूल्य, बयस्कका लागि १७०० येन र माध्यमिक तहका विद्यार्थीहरू वा सो भन्दा मुनिका लागि १२०० येन हो, जसमा जुत्ताको शुल्क समावेश छ।
बयस्क र बच्चा दुवैले रमाइलो गर्न सक्ने यो अवसर नछुटाउनुहोस्। यस जाडोमा, आइस स्केटिङको आनन्द लिन सीसाइड मोमोची मा अवश्य जानुहोस्!
シーサイドももち ICE SKATING PARK🔎https://fuk-sc.com/
【यो फुकुओका शरहको सूचना हो।】
“वर्षको समाप्ति र नयाँ वर्ष सुरक्षित र ढुक्क साथ बिताउनका लागि”
वर्षको अन्त्य र नयाँ वर्षमा प्रायः मदिरा पिउने अवसर धेरै हुन्छ।
मदिरा पिएपछि, आफैं वा अरू कसैलाई गाडी चलाउन कहिल्यै अनुमति दिनु हुँदैन।
मदिरा पिएपछि साइकल चलाउनु पनि कानुनले प्रतिबन्धित गरेको छ।
भोलिपल्ट बिहान मदिरा अलिकति पनि बाँकी छ भन्ने लागेको अवस्थामा सवारी चलाउन हुँदैन।
यस अतिरिक्त, वर्षको अन्त्यमा सडक दुर्घटनाको संख्या बढ्ने गर्दछ।
राति बाहिर निस्कँदा, चालकहरूले सजिलै देख्न सक्ने गरी उज्यालो लुगा वा राती चम्किलो देखिने लुगा लगाउनुस्।
साँझपख गाडी वा साइकल चलाउँदा छिट्टै बत्ती बाल्न नबिर्सनुहोस्।
अब, सामाजिक मिडिया मार्फत गरिने लगानी ठगी र रोमान्स ठगीबारे जानकारी गराउँदै छु।सामाजिक मिडिया वा डेटिङ एप्स मार्फत चिनजान गरिएका मानिसहरूबाट वा चर्चित व्यक्तिका रूपमा प्रस्तुत भई लगानी गर्न सुझाउनेहरूबाट ठगीका घटनाहरू बढिरहेका छन्।यस्ता ठगीबाट जोगिनका लागि
१. सामाजिक मिडिया वा इन्टरनेटमा गरिने लगानीको आग्रहमा सजग रहनुहोस्।
२. प्रत्यक्ष रूपमा भेट नभएका व्यक्तिले तपाईंलाई पैसासँग सम्बन्धित कुरा गरे भने, त्यो ठगी हुन सक्छ भनेर शङ्का गर्नुहोस्।
३. "निश्चित रुपमा लाभ हुन्छ", "मूलधनको ग्यारेन्टी" जस्ता शब्दहरू प्रयोग गरेर गरिने लगानीको आग्रह ठगी हो।
यी तीन कुराहरुमा ध्यान दिनुहोस्।
अर्को कुरा, बाहिर हिंड्दा वा साइकल चलाउँदा धूम्रपान नगर्नुहोस्।वरपर मानिस भएको बेला बाहिर धूम्रपान नगर्नुहोस्। तपाईंहरुको सहकार्यको अनुरोध गर्दछौं।
आफू र आफ्ना प्रियजनहरुलाई सुरक्षित राख्दै रमाइलो नयाँ वर्ष मनाउनुहोस्।
2024.12.19[Thu] 09:00
अन्य(その他) , नियम तथा आचरण(ルール・マナー)
【फोहोर फाल्न प्रयोग गर्न मिल्ने रेजिझोला "फुकुरेजि"】
वर्षको अन्त्य र नयाँ वर्षको तयारीका लागि किनमेलको आवृत्ति र परिमाण बढ्ने यो समयमा, तपाईँले आफ्नो "माई ब्याग" बिर्सनु भएको अवस्थामा वा ल्याएको माई ब्याग पर्याप्त नहुने अवस्थामा प्रयोग गर्न मिल्ने "रेजि ब्याग" को बारेमा थाहा पाउनु भएको छ? फुकुओका शहरभित्रका कनभिनि, सुपरमार्केट, ड्रगस्टोर आदिका रेजि काउन्टर नजिकै, फोहोर फाल्न प्रयोग गर्न मिल्ने रेजिझोला "फुकुरेजि"बिक्रीमा उपलब्ध छ।
अन्तिम वर्षहरूमा, रेजिझोलाको शुल्क लाग्न थालेपछि माईब्यागको प्रयोगको विस्तार भएको छ। तर, प्लास्टिक फोहोरमध्ये एक हुने रेजि ब्याग अझै पनि फुकुओका शहरमा वार्षिक करिब २,६०० टन फ्याँकिएको तथ्य पत्ता लागेको छ। यसै कारण, किनमेलको समयमा रेजि ब्यागको प्रयोग घटाउनका लागि एउटा नयाँ विकल्पको रूपमा, फुकुओका शहरमा फोहोर फाल्दा प्रयोग गर्न मिल्ने रेजिझोला "फुकुरेजि"को शुरुवात गरिएको छ।
माई ब्याग बिर्सनु भएको बेला वा अचानक किनमेलको अवस्थामा रेजि ब्याग किन्ने आवश्यकता परेमा, प्लास्टिक फोहोर घटाउने र रेजि ब्यागको खर्च जोगाउने "फुकुरेजि" लाई रोज्नुहोस्।
फुकुरेजि, १५ लिटरको १५ येन तथा १० लिटरको १० येन गरि २ प्रकारको साइजहरुमा उपलब्ध छ। रेजिझोलाको रूपमा प्रयोग गरेपछि, त्यसलाई घरेलू फोहोर फाल्दा, जल्ने फोहोरको झोलाको रुपमा प्रयोग गर्न सकिन्छ। नियमित फोहोर निकाल्ने बेला जस्तै, फुकुओका शहरले तोकिएको समय र स्थानमा फोहोर फ्याँक्न सकिन्छ।
झोलाको डिजाइन कलाकार इफुकु खाजुहिकोले ल "मानिस र प्रकृतिप्रति सहानुभूतिका भावनाले सिर्जना गर्ने 'सहानुभूतिको चक्र'"लाई चित्रित गरेर तयार गर्नुभएको हो।
प्लास्टिक फोहोर घटाउनका लागि, कनभिनि, सुपरमार्केट, ड्रगस्टोरमा रेजिझोलाको आवश्यकता पर्दा, "फुकुरेजि" लाई रोज्नुहोस्।
【यो फुकुओका शरहको सूचना हो।】
“नयाँ वर्षको बिदाहरुमा वार्ड अफिस काउण्टर अनि फोहोर फाल्ने दिनसम्बन्धि सूचना”
नयाँ वर्षको बिदाहरुमा, वार्ड अफिसको काउण्टर र फोहोर फाल्ने दिन परिवर्तन हुने भएकाले, कृपया ध्यान दिनुहोला।वार्ड अफिसको काउण्टर, डिसेम्बर २८ (शनिबार) देखि जनवरी ५(आइतबार) सम्म बन्द रहनेछ।
नयाँ वर्षको बिदाहरुको अघिपछि वार्ड अफिसको काउण्टर भीड हुने भएकोले, धेरै समय राखेर जाने गरौँ।
डिसेम्बर ३१ (मङ्गलबार) देखि जनवरी ३ (शुक्रबार) सम्म, फोहर संकलन हुनेछैन।
जल्ने फोहरको मात्र संकलन, डिसेम्बर ३० (सोमबार) सम्ममा हुनेछ।
नयाँ बर्षको जनवरी ५ (आइतबार) बाट संकलन पुनः शुरु हुने हुनाले तोकिएको बारमा फोहर बाहिर राख्नुहोस्।
सँधै मंगलबार र शुक्रबार फोहर संकलन हुने क्षेत्रहरुमा, त्यसको सट्टा जनवरी ४ (शनिबार) मा संकलन हुनेछ।
नजल्ने फोहर तथा खाली सिसाको बोतल, प्लास्टिकको बोतल फाल्नका लागि,
जनवरी १ (बुधबार) मा संकलन हुने क्षेत्रमा डिसेम्बर २९ (आइतबार) मा र
जनवरी २ (बिहीबार) मा संकलन हुने क्षेत्रमा डिसेम्बर ३० (सोमबार) फोहर बाहिर राख्नुहोस्।
त्यसैगरी, ठूलो आकारका फोहरको काउण्टर तथा संकलन, डिसेम्बर २९ (आइतबार) देखि जनवरी ३ (शुक्रबार) सम्म बन्द हुनेछ।
फोहोर बाहिर राख्ने बारेमा जानकारी प्राप्त गर्न चाहनुहुन्छ भने, अनुवाद सेवा केन्द्रमा फोन गरेर आफ्नो वार्ड कार्यालयमा सम्पर्क गर्न सक्नुहुन्छ।
फोन नम्बर (०९२-७५३-६११३) हो।
कृपया आफू बस्ने वार्ड र फोहोर बाहिर राख्ने सम्बन्धी सोधपुछको बारेमा भन्नुहोस्।
समय, ९:०० बजेदेखि १७:०० बजेसम्म।शनिबार, आइतबार, सार्वजनिक बिदा, र डिसेम्बर२९ देखि १ जनवरी ३ बन्द हुनेछ।
2024.12.12[Thu] 09:00
अन्य(その他)
【फुकुओका शहरको नयाँ आकर्षण: "उओजा"】
फुकुओका शहरको च्युओकु वार्डको तेंन्जिनबाट नजिकै रहेकोनागाहामा क्षेत्रमा नयाँ सुविधा "उओजा"खुलेको छ। योनागाहामा माछा बजारमा रहेको छ।
"उओजा" मा, माछाका पेशेवरहरूले सञ्चालन गर्ने विभिन्न सुविधाहरू छन्, जस्तै:
बजारमा पाइने स्वादिष्ट माछा र समुद्री परिकारहरू चाख्न सकिनेफूड हल।
माछाको परिकार बनाउन सिक्न मिल्ने "साशिमी डोजो"।
पानीजन्य प्रशोधन सामग्री र मसला जस्ता सामग्रीहरू किन्न सकिनेबजार।
फूड हलको विशेष आकर्षण भनेको यसको उचाइ भएको छत र ठूला बत्तीहरूले लिलामी स्थलको अनुभव दिने वातावरण हो। यहाँ ताजा माछा सस्तो मूल्यमा पाइन्छ। तपाईंले साशिमी, ग्रिल माछा, फ्राई माछा जस्ता मनपर्ने खाना छानी, मिलाएर आफ्नो ओरिजिनल सेट मील वा समुद्री खानाको आनन्द लिन सक्नुहुन्छ।
बजार क्षेत्रमा, माछाका प्रशोधित सामग्री, मसला, र व्यावसायिक कुकहरूले प्रयोग गर्ने चक्कु तथा अन्य भान्साका सामग्रीहरू पनि उपलब्ध छन्।
खुल्ने समय,बिहान ११ बजेदेखि राति ९:३० सम्म।बुधबार र वर्षको अन्त्य तथा नयाँ वर्षको समय बन्द हुनेछ।
थप जानकारीका लागि, "उओजा" को आधिकारिक Instagram हेर्नुहोस्।
माछा खान मन पराउनेहरु अवश्य पनि "उओजा" मा जानुहोस् र ताजा समुद्री खानाको आनन्द लिनुहोस्। प्रशोधित समुद्री खाना उत्पादनहरू पनि किन्न सक्ने नागाहामाको यस नयाँ सुविधा "उओजा" मा गएर हेर्दा कसो होला!
🔎 https://www.instagram.com/uoza_nagahama/
【फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना】
"वर्षको समाप्ति र नववर्षको बिदाको सूचना”
फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसन, डिसेम्बर २८ शनिबारदेखि जनवरी ५ आइतबारसम्म ९ दिनका लागि बन्द हुनेछ।नववर्ष २०२५ जनवरी ६ सोमबार, बिहान ९ बजेबाट फाउण्डेशन खुल्नेछ।
वर्ष २०२५ को प्रथम विदेशीहरूका लागि नि:शुल्क कानुनी परामर्श,जनवरी १५, बुधबार आयोजना हुनेछ।
कानुनी परामर्शको लागि अग्रिम बुकिङ आवश्यक हुने हुनाले, परामर्श लिन ईच्छुक महानुभावहरुले सकेसम्म छिटो सम्पर्क गर्नुहोस्। अग्रिम बुकिंग बिना उपलब्ध हुने प्रसाशनिक वकिलद्वाराको परामर्श,जनवरी १२ आइतबार आयोजना हुनेछ।
फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनले, फुकुओका शहरमा बसोबास गर्ने विदेशीहरूको लागि सहज र आरामदायी जीवनयापनका लागि, मुख्य संवाहकको रुपमा, आवश्यक जानकारी उपलब्ध गराउँदै सहयोग गर्दै आईरहेको छ। अवश्य पनि निःसंकोच परामर्श लिनुहोस्।
"LINE कल मार्फत परामर्श लिन सकिन्छ!"
फाउण्डेशनको LINE आधिकारिक Account बाट प्रत्यक्ष कल गरी जीवनयापनसँग सम्बन्धित परामर्श वा निःशुल्क परामर्शको लागि दर्ता गर्न सक्नुहुन्छ। फोन अनुवाद सेवाबाट बहुभाषी सहयोग पनि उपलब्ध छ।
थप रूपमा, फाउण्डेशनको कार्यक्रम र विदेशी बासिन्दाको लागि जानकारीहरू पनि प्राप्त गर्न सकिन्छ।
फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको होमपेजबाट अवश्य पनि "Friend Add" गर्नुहोला।
च्याट सेवा उपलब्ध छैन।
लेखेर परामर्श गर्न चाहनुहुन्छ भने, फाउण्डेशनको होमपेजमा रहेको सम्पर्क फारम प्रयोग गर्नुहोस्।
2024.12.05[Thu] 09:00
अन्य(その他) , बालबच्चा तथा शिशु हुर्काई(子ども・子育て)
【मरीन वर्ल्ड उमी नो नाखामिचीमा डल्फिनको बच्चा जन्मियो!】
फुकुओका शहरको हिगासी वार्डमा रहेको एक्वेरियम "मरीन वर्ल्ड उमी नो नाखामिची" मा अक्टोबर महिनामा डल्फिनको बच्चा जन्मिएको छ।
जन्मिएको बन्डो डल्फिनको भाले बच्चा हो, जुन अक्टोबर २७ मा जन्मिएको हो, र यसको लम्बाई करिब १ मिटर छ।सामान्यतया, डल्फिनको बच्चा जन्मिन २ घण्टा भन्दा बढी समय लागेमा बच्चाको जीवित रहने सम्भावना कम हुन्छ भन्ने भनाइ छ। तर यो पटकको डल्फिनको जन्मलाई करिब साढे ३ घण्टा लागे पनि आमा र बच्चा दुवै स्वस्थ छन् र राम्रोसँग हुर्किरहेका छन्।
डल्फिन हेरचाह गर्ने व्यक्तिका अनुसार, "बच्चाको शरीर राम्रोसँग विकसित भएको देखिन्छ र पौडनमा पनि एकदम सिपालु छ। चम्किलो र ठूलो आँखा बच्चा डल्फिनको विशेष आकर्षण हो। नयाँ डल्फिनले सबैलाई खुशी बनाउने नाम पाओस् र सबैको मन जितोस्।"
बच्चाको नाम आगन्तुकहरूको भोटबाट चयन गरिनेछ, त्यसैले मरीन वर्ल्ड जानु भयो भने भोट गर्न नबिर्सनुस्।
यस बाहेक, "मरीन वर्ल्ड उमी नो नाखामिची" मा विभिन्न रमाइला कार्यक्रमहरू पनि नियमित रूपमा आयोजना गरिन्छ। नयाँ क्षेत्र "खाइज्यु आइल्याण्ड" मा आज़ारासीको रमाइलो हाउभाउ र आवाज नजिकैबाट हेर्न पाइने स्टेज प्रदर्शन र डल्फिन तथा आज़ारासीलाई खुवाउने अनुभवले धेरैलाई आकर्षित गरिरहेको छ।
थप जानकारी र कार्यक्रमहरूका विवरणका लागि वेबसाइटमा हेर्नुहोस्।
🔎https://marine-world.jp/news/post-6963/
【फुकुओका शहर/ फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना】
“विश्व मानव अधिकार दिवस र मानव अधिकार सप्ताहबारे”
"मानव अधिकार" भन्नाले हरेक व्यक्तिले जन्मदेखि नै पाउने "मानिसले मानिसजस्तै बाँच्न पाउने अधिकार" लाई जनाउँछ। डिसेम्बर १० तारिकलाई "विश्व मानव अधिकार दिवस" भनिन्छ, र यो दिन जापान मात्र नभई विश्वभर मानव अधिकारको महत्त्वबारे सोच्ने अवसरका रूपमा मनाइन्छ। डिसेम्बर ४ देखि १० सम्मको अवधिलाई "मानव अधिकार सप्ताह" मानिन्छ, र फुकुओका शहरले यसलाई "मानव अधिकार सम्मान सप्ताह" का रूपमा मनाउँदै, सबैको अधिकारको सम्मान हुने र भेदभावबाट मुक्त, बस्न योग्य शहर बनाउने लक्ष्य लिएको छ।
आफू मात्र होइन, अरू व्यक्तिहरू पनि बिशेष र महत्त्वपूर्ण छन् भन्ने कुरा अनुभूति दिने यो महत्त्वपूर्ण सप्ताह हो। SDGs(सस्टेनेबल डेभलपमेन्ट गोल्स) को "कसैलाई पनि पछाडि नछोड्ने" समाज निर्माण गर्न, महिला, बालबालिका, ज्येष्ठ नागरिक, विदेशी, र शारीरिक रूपमा असक्षम व्यक्तिहरूका विरुद्ध हुने भेदभाव र पूर्वाग्रहलाई हटाउनु आवश्यक छ। एक अर्काको अधिकारको सम्मान गर्न हामी सबैको भूमिका महत्त्वपूर्ण छ।
शहर प्रशासनको डिसेम्बर १ को अंकमा, "फुकुओका शहरमा सक्रिय विदेशीहरू र बहुसांस्कृतिक सहकार्य" भन्ने विषय समेटिएको छ। यसमा फुकुओका शहरमा योगदान दिइरहेका विदेशीहरू र स्थानीय बासिन्दासँगको सहकार्य सम्बन्धी गतिविधिहरूको परिचय दिइएको छ। अवश्य हेर्नु होला।
हामीहरु सबैजनाले "दयालु हृदय" र " अमूल्य जीवन" बारे फेरि एक पटक सोच्ने प्रयास गरौँ।
डिसेम्बर १० तारिक, नाराया सामुदायिक केन्द्रमा “शिशु तथा बालबालिका अन्तरक्रिया कक्षा” सम्बन्धी सूचना
तपाईँहरु आफ्ना बच्चासँग रमाइलो समय बिताउन मिल्ने ठाउँको खोजीमा हुनुहुन्छ भने,
हाकाता वार्डमा रहेको नाराया सामुदायिक केन्द्रमा, आमाबुबा र बच्चाहरुले रमाइलो समय बिताउन सक्ने "शिशु तथा बालबालिका अन्तरक्रिया कक्षा" (याराना हिरोबा) सञ्चालन भइरहेको छ।
डिसेम्बर महिनामा यो कार्यक्रम१० तारिक मंगलबारहुनेछ। समय बिहान१०:३० देखि ११:३० सम्महो। कार्यक्रमको मुख्य विषय "क्रिसमस उत्सव"रहेको छ। यसमा, कथा पुस्तकको वाचन, गीत गाउँदै रमाइलो गर्ने, र स्टिकर जस्ता सामग्रीले खेल्ने गतिविधिहरू समावेश छन्। सबै मिलेर रमाइलो वातावरणमा समय बिताऔं।
आवेदन विधि र विस्तृत जानकारीको लागि, कृपया फुकुओकासिटीइन्टरनेशनलफाउण्डेसनकोहोमपेज वा फेसबुकमा हेर्नुहोस्।
2024.11.21[Thu] 09:00
अन्य(その他) , बालबच्चा तथा शिशु हुर्काई(子ども・子育て)
【Christmas Advent】
यस वर्ष पनि फुकुओकाको जाडो मौसमलाई रंगिन बनाउने "Christmas Advent"शुरु भएको छ। क्रिसमसको दिनसम्म "पाँच इन्द्रियहरूलाई गुन्जाउने क्रिसमस" भन्ने विषयमा, फुकुओकाको शहर पैदल घुम्न रमाइलो र अनुभव गर्न रमाइलो क्रिसमसको माहोल बनाइएको छ। यहाँका झिलिमिली सजावटहरू हेर्दै हिँड्न सक्नुहुन्छ, "फुकुओका क्लासिक संगीत महोत्सव" मा सहभागी हुन सक्नुहुन्छ। त्यस्तै,स्वादिलो खाना र कलाका रमाइला प्रदर्शनीहरूको मनोरञ्जन लिन सक्नुहुन्छ।
मुख्य स्थानहरूमा, फुकुओका एयरपोर्ट,JR हाकाता स्टेशन अगाडिको चोक, किहिन्खान् अगाडिको चोक, तेंन्जिन सेन्ट्रल पार्क, फुकुओका सिटी हलको पश्चिमपट्टि रहेको चोक, र फुकुओका डाइम्यो गार्डेन सिटी पर्दछन्। यहाँ हाकातादेखि नाकासु हुँदै तेंन्जिनसम्म झिलिमिली बत्तीहरू र क्रिसमस मार्केट राखिएको छ।
प्रत्येक स्थानमा बत्तीका आकर्षक सजावट र काठका साना बुथहरू राखिएका छन्, जहाँ तातो वाइन, तातो चकलेट, ससेज र युरोपबाट ल्याइएका क्रिसमस सजावटका सामानहरू पाइन्छन्। यसरी फुकुओकामै बसेर युरोपको वास्तविक क्रिसमसको माहोल अनुभव गर्न सक्नुहुन्छ। यो शहरकै बिचमा आयोजना हुने भएकाले, किनमेलको बिचमा पनि सजिलै जान सक्नुहुन्छ।
त्यसैगरी, प्रत्येक घण्टामा एक पटक हुने संगीत मञ्च, र केही स्थानहरूमा हुने कार्यशालाहरूलेसबै उमेरका मानिसहरूलाई रमाइलो गर्ने मौका दिन्छ। हरेक वर्ष छिट्टै बिक्ने विशेष मग कप किन्न चाहनुहुन्छ भने, छिट्टै जानुहोस्। फुकुओकामा क्रिसमसको आनन्द लिनुहोस्।
【फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना】
“नोभेम्बर २६ तारिक, नाराया सामुदायिक केन्द्रमा शिशु तथा बालबालिका अन्तरक्रिया कक्षा” सम्बन्धी सूचना
तपाईँहरु आफ्ना बच्चासँग रमाइलो समय बिताउन मिल्ने ठाउँको खोजीमा हुनुहुन्छ भने,
हाकाता वार्डमा रहेको नाराया सामुदायिक केन्द्रमा, हरेक महिनाको चौथो मंगलबार, आमाबुबा र बच्चाहरुले रमाइलो समय बिताउन सक्ने "शिशु तथा बालबालिका अन्तरक्रिया कक्षा" (याराना हिरोबा) सञ्चालन भइरहेको छ।
नोभेम्बरमा यो कार्यक्रम २६ तारिकमा हुनेछ।
समय बिहान १०:३० देखि ११:३० सम्म हो।
यसपटकको कार्यक्रमको विषय "आइकुरु डेमाए" हो।
केन्द्रीय बालबालिका केन्द्र "आइकुरु" नाराया सार्वजनिक हलमा आउनेछ। विभिन्न खेलकुद तथा कथा किताबहरू सुनेर अभिभावक र बालबालिकाहरुले सँगै रमाइलो समय बिताउन सक्नुहुन्छ।
साथै, अभिभावकहरू बीचमा पनि कुराकानी र अन्तरक्रिया गर्ने अवसर हुनेछ।
आवेदन विधि र विस्तृत जानकारीको लागि, कृपया फुकुओकासिटीइन्टरनेशनलफाउण्डेसनकोहोमपेज वा फेसबुकमा हेर्नुहोस्।
“विदेशीहरुका लागि आप्रवासन, आवास र राष्ट्रियता सम्बन्धि परामर्श”
आवासको स्थिति र आवास अवधिको बारेमा, केही कुरा नबुझ्नु भएको छ कि?
फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनमा, फुकुओकामा बस्नु हुने विदेशीहरूका लागि निःशुल्क परामर्शहरु प्रदान गर्दै आईरहेको छ।
हरेक महिनाकोदोस्रो आइतबारको दिउँसो१ बजेदेखि ४ बजेसम्म, प्रसाशनिक वकिलद्वारा तपाईंहरुको प्रश्न र परामर्शको उचित सल्लाह दिनुहुन्छ।परामर्शका लागि इच्छुक महानुभावहरुले दिउँसो ३:३० सम्ममा काउण्टरमा सम्पर्क राख्नु होला।
अंग्रेजी, चाइनिज र जापानी भाषामा परामर्शका लागि अग्रिम बुकिंग गर्न आवश्यक छैन।
अन्य भाषाहरुमा परामर्श लिन चाहनुहुने महानुभावहरुले, २ हप्ता अगाडि सम्ममा सम्पर्क गर्नुहोला।
जुनसुकै परामर्श पनि गोपनीयता कडा पालन गर्ने भएकोले ढुक्क भएर परामर्श लिनुहोस्।
बिस्तृत जानकारीका लागि, फोन नम्बर, ०१२०-६६-१७९९ मा सम्पर्क गर्नुहोला।
सोमबारदेखि शुक्रबार, बिहान ९ बजेदेखि बेलुका ५:३० बजेसम्म कल स्वीकार गरिन्छ।
2024.11.14[Thu] 09:00
अन्य(その他)
【शिचिगोसान्】
नोभेम्बरमा प्रवेशसँगै मौसम शरदबाट ग्रीष्म ऋतुतर्फ सर्दैछ। अहिलेको समयमा मन्दिरहरूमा परम्परागत पोशाक लगाएका परिवारहरू धेरै देख्न पाइन्छ। यो जापानको विशेष पर्व “शिचिगोसान्” हो, जहाँ बालबालिकाको वृद्धि र राम्रो स्वास्थ्यको कामना गरिन्छ। शिचिगोसान्को मिति हरेक वर्ष नोभेम्बर १५ मा हुन्छ। ३, ५, र ७ वर्ष पुगेका बालबालिकाहरूले राम्रो कपडा लगाएर परिवारसँग मन्दिरमा गएर पूजा गर्छन्। यो देवतालाई धन्यवाद दिने र भविष्यमा पनि स्वस्थ रहून् भनेर प्रार्थना गर्ने परम्परा हो।
पहिलेको समयमा बालबालिका सानो उमेरमा नै बिरामी हुने गर्थे, त्यसैले ७ वर्षसम्म स्वस्थ रहनु दुर्लभ मानिन्थ्यो। त्यसैले यो उमेरमा पुगेका बालबालिकाको स्वास्थ्य र लामो जीवनको लागि प्रार्थना गर्न थालियो। अहिलेको समयमा यो परम्परा परिवर्तन भएर बालबालिकाहरूले विशेष पोशाक लगाएर मन्दिरमा पूजा गर्न जाने चलन बनेको छ।
शिचिगोसान्को दिन “चितोसे आमे” भन्ने विशेष ललीपप पनि खाने गरिन्छ। रातो र सेतो रङको यो लामो ललीपप स्वास्थ्य र लामो जीवनको प्रतीक मानिन्छ।
रंगीन पोशाकमा सजिएका, कपाल मिलाएका, र विशेष जुत्ता लगाएका बालबालिकाहरू हिँडिरहेको दृश्य साँच्चै मनमोहक हुन्छ। यदि तपाईंले सहरमा यस्तो पोशाकमा सजिएको परिवार देख्नुभयो भने, केही बधाईका शब्दहरू भन्नुहोस्, जसले उनीहरूलाई खुशी मिल्नेछ।
【फुकुओका शहरको सूचना】
"फुकुओका किबो च्युउ गाक्कोमा विद्यार्थीहरूका लागि आवेदन खुला" को सूचना
पछिल्लो महिनाको प्रसारणमा भनिएको "फुकुओका किबो च्युउ गाक्को" तपाईहरुलाई याद छ? अहिले यो विद्यालयमा अर्को वर्ष भर्ना हुने विद्यार्थीहरूका लागि आवेदन खुला छ, त्यसैले थप जानकारी लिएर आएकी छु।
फुकुओका किबो च्युउ गाक्को भनेको, विभिन्न कारणले अनिवार्य शिक्षा नपाएका वा विद्यालय नआउन सकेका व्यक्तिहरूका लागि फुकुओका शहरले स्थापना गरेको सार्वजनिक रात्रीकालीन जुनियर हाई स्कूल हो। यहाँ राष्ट्रियता जेसुकै भए पनि विद्यार्थीहरूलाई भर्ना गरिन्छ।
यो स्कूलमा दिउँसोका स्कूलहरूमा पढाइने सबै बिषयहरू पढाइन्छ। जापानी भाषामा कठिनाई हुनेहरूका लागि, जापानी भाषा आधारस्तरबाट पढाउने शिक्षक पनि छन्। अध्ययन पूरा गरेपछि, विद्यार्थीहरूले आधिकारिक स्नातक प्रमाणपत्र प्राप्त गर्न सक्छन्।
कक्षा सोमबारदेखि शुक्रबार साँझ ५:५० बजेबाट राती ९:१५ बजे सम्म हुन्छ। विद्यालयको ठेगाना सवारा वार्ड, मोमोची क्षेत्रमा रहेको फुकुओका शिक्षा केन्द्रको चौथो तल्लामा छ। मेट्रो वा बस टर्मिनलबाट पैदल १० मिनेटमा पुग्न सकिने स्थानमा छ।
पढाई शुल्क र पाठ्यपुस्तक शुल्क कुनै पनि लाग्दैन। आर्थिक रुपमा समस्यामा परेका व्यक्तिहरूलाई शिक्षाका लागि सहयोगको व्यवस्था पनि गरिएको छ, जसबाट मासिक टिकटको शुल्क पनि प्राप्त गर्न सकिन्छ।
यस किसिमको सुबिधा भएको फुकुओका किबो च्युउ गाक्कोले अर्को वर्षको अप्रिलदेखि भर्ना हुने विद्यार्थीहरूका लागि आवेदन खुला गरेको छ। आवेदनका लागि शर्तहरू २०१० अप्रिल १ सम्म जन्मेका, फुकुओका शहरमा बसोबास दर्ता भएका, र विभिन्न कारणले जुनियर हाई स्कूल पूरा गर्न नसकेका व्यक्तिहरू पर्दछन्।
थप जानकारीको लागि, विद्यालयको वेबसाइटमा रहेको भर्ना जानकारी हेर्नुहोस्। "फुकुओका किबो च्युउ गाक्को भर्ना" भनेर खोज्नुहोस्। नगर कार्यालय र वडामा पनि जानकारी पाउन सकिन्छ, तथा विभिन्न भाषाहरूमा जानकारी उपलब्ध छ।
भर्ना चाहनेहरूले २०२५ जनवरी ३१ सम्म विद्यालयमा फोन वा इमेलबाट सम्पर्क गर्न सक्छन्।
फोन नम्बर ०९२-४००-०७५१ हो।
सोमबारदेखि शुक्रबार, दिउँसो २ बजेबाट राति ९:१५ बजेसम्म कल स्वीकार गरिन्छ। इमेल ठेगाना विद्यालयको वेबसाइटमा दिइएको छ।
सोधपुछ तथा परामर्शको लागि इमेल मार्फत् सम्पर्क गर्न नहिचकिचाउनुहोस्। इमेलबाट सम्पर्क गर्नुहुँदा, नेपाली भाषा प्रयोग गर्न सक्नुहुन्छ।
2024.11.07[Thu] 09:00
अन्य(その他) , DJ को Choice!(DJのオススメ)
【नोभेम्बरमा मनाईने स्मरणीय दिन】
नोभेम्बरमा प्रवेश गरिसक्यौँ। यस हप्ता, आभार व्यक्त गर्ने स्मरणीय दिनहरूको बारेमा कुरा गरौं। जापान धेरै स्मरणीय दिनहरू भएको देशको रूपमा चिनिन्छ। तिनैमध्ये, नोभेम्बरमा मनाइने दुईवटा विशेष दिनहरूको बारेमा जानकारी लिएर आएकी छु: "राम्रो जोडीको दिन" (いい夫婦の日) र "श्रम आभार दिवस" (勤労感謝の日)।
२२ तारिखको "राम्रो जोडीको दिन" ११=いい र २२=ふうふ भन्ने मिल्दोजुल्दो ध्वनिलाई मिलाएर いい夫婦の日 बनाइएको हो। यो दिन श्रीमान-श्रीमती तथा जोडीहरूले एकआपससँग बिताएको समयलाई सम्मान गर्ने दिन हो। दैनिक रूपमा प्रशंसा व्यक्त गर्न नसकिने भावनाहरू र विशेष अवसर बिना व्यक्त गर्न गाह्रो पर्ने भावनाहरू यस दिनमा व्यक्त गर्ने राम्रो मौकाको रुपमा लिईन्छ। यस दिन जोडीहरू मात्र नभई, आमाबाबु, बच्चाहरू, साथीहरू, आदिलाई पनि आभार व्यक्त गर्ने अवसरका रूपमा धेरैले मनाउँछन्। पछिल्ला वर्षहरूमा यस दिनलाई विवाह वार्षिकोत्सवको रूपमा पनि चिनिँदै आएको छ। यस दिनमा "राम्रो जोडी- नाइस कपल अवार्ड" दिने कार्यक्रमहरू, जोडीहरूले भाग लिने गतिविधिहरू पनि आयोजना हुने गर्छ।
अर्को दिन अर्थात् २३ तारिखमा मनाइने "श्रम आभार दिवस" श्रमिकहरूलाई आभार व्यक्त गर्ने दिन हो। यो दिन पहिलेको समयमा वर्षको उत्पादनको आभार प्रकट गरी नयाँ अन्नलाई देवतालाई चढाएर, आगामी वर्षको राम्रो उत्पादनको कामना गर्ने पर्वको रुपमा मनाइने गरिन्थ्यो। "श्रम आभार दिवस" लाई कामप्रतिको लगाव र कार्यप्रति सम्मान व्यक्त गर्ने दिनका रूपमा स्थापना गरिएको हो। यस दिनमा विशेष रूपमा केही गर्नुपर्ने आवश्यकता नभए पनि, कामको थकान मेटाउने वा मनपर्ने तरिकाले बिताउने दिनका रूपमा चिनिन्छ। परिवार, साथीहरू, कार्यस्थलका वरिष्ठ वा सहकर्मीहरूलाई, उहाँहरुको निरन्तर मेहनतका लागि आभार व्यक्त गर्ने दिन पनि हो।
त्यसैगरी, यी स्मरणीय दिनहरूमा अरूलाई मात्र होइन, आफैंलाई पनि "राम्ररी गरें" भनेर प्रशंसा गर्नु पनि महत्त्वपूर्ण छ। तपाईंले दैनिक रूपमा आफ्नो वरिपरिका लागि गरिरहेको मेहनतको कदर गर्दै आफैंलाई पनि आत्मसम्मान दिनुहोस्♪
【ओइस्टर हट्स】
फुकुओकाको हिउँद ऋतुको परम्पराहरुमध्ये एक,इतोशिमाको "''ओइस्टर हट्स", यस वर्ष पनि खुलेको छ! हरेक वर्षको यस समय, स्थानीय माझीहरूले चलाउने सानो घरहरू र प्लास्टिकका घरहरू सीमित अवधिका लागि खुल्छन्। "समुद्रको दूध" भनिने ओइस्टरमा प्रशस्त मात्रामा भिटामिन र खनिज पाइन्छ, जुन कम क्यालोरीका साथ राम्रो प्रोटीन र पोषक तत्वले भरिएको हुन्छ। यो प्रतिरक्षा प्रणाली बढाउन, थकान कम गर्न, र जीवनशैलीसँग सम्बन्धित रोगहरुको रोकथामका लागि लाभदायक मानिन्छ, साथै छाला र कपालका लागि पनि उपयोगी हुन्छ।
विशेष गरी, इतोशिमाको ओइस्टर ताजा, सुरक्षित, ठूलो र स्वादिष्ट हुन्छ, जसको मूल्य पनि उचित हुने हुँदा स्थानीय बासिन्दा मात्र नभई अन्य प्रान्तहरूबाट पनि मानिसहरू बारम्बार आउँछन्। अनलाइन बिक्री पनि उपलब्ध भएकोले, घरमै बसेर इतोशिमाको ताजा काकीको स्वाद लिन सकिन्छ।
ओइस्टर विभिन्न तरिकाले पकाएर खान सकिन्छ।काँचो, पोलिएको, वा बाफिएको ओइस्टरलाई लेमन वा सोया सॉसमा चोपेर त्यत्तिकै खानु पनि राम्रो हुन्छ। बटर र गार्लिकमा फ्राइ गर्दा पनि ओइस्टरको स्वाद मज्जाको हुन्छ। अनि, अहिजो (लसुन र तेलमा पकाइने स्पेनिश डिश) पनि छुटाउन मिल्दैन। जापानमा, ओइस्टरलाई फ्राइ गरेर खाने चलन लोकप्रिय छ, र यो मौसममा धेरै रेस्टुरेन्टहरूमा ओइस्टर फ्राइ सेटको मेनु उपलब्ध हुन्छ। ओइस्टरबाट राम्रो सुप र स्ट्यू पनि बन्छ, जुन जाडोमा शरीर तताउन उत्तम हुन्छ।
पक्कै पनि यस जाडोमा स्वादिष्ट ओइस्टरहरूको आनन्द लिनुहोस्।
2024.10.24[Thu] 09:00
अन्य(その他)
【२०२४ को नोबेल पुरस्कार】
यस शरद ऋतुमा, नर्वेको नोबेल पुरस्कार समितिले २०२४ को नोबेल शान्ति पुरस्कार "Japan Confederation of A- and H-Bomb Sufferers Organizations" लाई प्रदान गर्ने निर्णय गरेको छ। जापानले शान्ति पुरस्कार पाएको यो ५० वर्षपछि पहिलो पटक हो।
"Japan Confederation of A- and H-Bomb Sufferers Organizations" भनेको परमाणु हतियारको आक्रमणबाट पीडितहरूलाई सहयोग गर्ने र युद्धको भयावहता भावी पुस्तालाई सम्झाउने काम गर्ने संस्था हो। करिब ७० वर्षदेखि, परमाणु हतियारमुक्त विश्वको स्थापनाका लागि गरेको प्रयास र परमाणु हतियार फेरि कहिल्यै प्रयोग हुन नहुने सन्देशलाई निरन्तर रूपमा फैलाउँदै आएको योगदानको उच्च मूल्यांकन गरिएको छ।
नोबेल समितिका अध्यक्ष फ्रिडनेसले भनेका छन्, "कुनै दिन पीडितहरू इतिहासका साक्षीका रूपमा अब हुँदैनन्। तिनका अनुभव र सन्देशलाई निरन्तर रूपमा सुनाइरहने नयाँ पुस्ताको आवश्यकता छ। ती व्यक्तिहरूले संसारभरिका मानिसहरूलाई प्रेरित गर्ने, शिक्षा दिने र यसै प्रक्रियामा, परमाणुको प्रयोगबारेको निषेधलाई कायम राख्न मद्दत गर्नेछन्। किनभने मानव जातिको शान्तिपूर्ण भविष्यका लागि परमाणु निषेध आधारभूत शर्त हो।"
"Japan Confederation of A- and H-Bomb Sufferers Organizations" का प्रतिनिधिका अनुसार, "परमाणु हतियारको उन्मूलन र शान्तिको स्थापना गर्न विश्वभरका मानिसहरूलाई सन्देश पुर्याउने कार्यलाई निरन्तरता दिईनेछ।"
यो नोबेल शान्ति पुरस्कारको प्राप्ति, परमाणु हतियार उन्मूलनको लामो प्रयासलाई विश्वले मान्यता दिएको संकेत हो। भविष्यका पुस्तालाई परमाणु हतियारको भयावहता बताउन र शान्तिपूर्ण संसार बनाउनको लागि कदम चाल्न प्रेरित गराउन सकून् भन्ने आशा गरौं।
【शरद ऋतुको पठन सप्ताह】
यस हप्ताको आइतबारबाट, शरद ऋतुको 【पठन सप्ताह】 शुरु हुँदैछ।
हरेक वर्ष, अक्टोबर २७ देखि नोभेम्बर ९ सम्मको दुई हप्ता पठन सप्ताहका रूपमा मनाइन्छ, जसको उद्देश्य मानिसहरूलाई पढ्नप्रति चासो जगाउनु र पढ्न प्रेरित गर्नु हो।
शरद ऋतुमा मौसम सुहाउँदो हुन्छ, र ध्यान केन्द्रित गर्न पनि सजिलो हुन्छ, त्यसैले यो पढ्नको लागि उपयुक्त समय हो।
फुकुओका शहरमा १२ वटा पुस्तकालयहरू छन्। यी सबै पुस्तकालयहरू निःशुल्क प्रयोग गर्न सकिन्छ, र त्यहाँबाट पुस्तकहरू सापट पनि लिन सकिन्छ।
तीमध्ये, 【फुकुओका सिटी पब्लिक लाइब्रेरी】 सबैभन्दा ठूलो हो, जहाँ करिब १२ लाख भन्दा धेरै पुस्तकहरू छन्। यहाँ बालबालिकाहरूका लागि कथा वाचन र अन्य कार्यक्रमहरू पनि आयोजना गरिन्छ। पुस्तकालयभित्र सानो सिनेमा हल पनि छ, जहाँ हरेक दिन नयाँ-नयाँ चलचित्रहरू देखाइन्छन्, साथै रेस्टुरेन्ट, अध्ययन कक्ष, र छलफल कक्ष पनि छन्।
त्यस्तै, हरेक वर्ष आयोजना हुने 【Bookuoka】 भन्ने पुस्तक मेला पनि हुन्छ! यो मेला नोभेम्बर २३ सम्म चल्नेछ। फुकुओका शहरको विभिन्न ठाउँमा कथा वाचन र टक शो जस्ता कार्यक्रमहरू आयोजना गरिन्छ। मुख्य कार्यक्रम नोभेम्बर ३, आइतबारको दिन हुनेछ, जहाँ तेनजिनदेखि गोकोकु मन्दिरसम्मको "केयाकी सडक" मा पुराना पुस्तकहरूको खुला बजार लाग्छ। यहाँ प्रकाशकहरू, पुस्तक पसलहरू र सामान्य पुस्तक प्रेमीहरूले छानेका पुराना पुस्तकहरू बिक्रीमा राख्छन्। दुर्लभ र अब नपाइने पुस्तकहरू भेटिन पनि सक्छन्!
यसका साथै, तेंन्जिनको 【फुकुओका PARCO】 मा पनि देशभरका प्रकाशक र पुस्तक पसलहरूले भाग लिने विशेष कार्यक्रम हुनगईरहेको छ।
यसमा करिब ३० वटा साना प्रकाशकहरू र फुकुओकाका ६ वटा स्वतन्त्र पुस्तक पसलहरूले चयन गरेका पुस्तकहरू राखिनेछन्।
विस्तृत जानकारीका लागि, 【Bookuoka】भनि खोज्नुस्।
पक्कै पनि शरद ऋतुको पठनको आनन्द लिनुहोस्♪